जेसीआई जोशीपुरको १०० दिन: 'संकल्पदेखि सफलतासम्म' को प्रगति प्रतिवेदन सार्वजनिक ​

2026-05-19

२०८३ जेष्ठ ०५,

जोशीपुर, कैलाली/ युवाहरूमा सकारात्मक सोचको विकास गरी उनीहरूलाई नेतृत्व, व्यक्तित्व विकास र उद्यमशीलता तर्फ अगाडि बढाउन क्रियाशील संस्था जेसीआई जोशीपुरले आफ्नो वर्ष २०२६ मा पहिलो पटक १०० दिनको लिखित प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। स्थापनाकालदेखि नै सामाजिक र सांगठनिक क्षेत्रमा सक्रिय शाखाले वर्ष २०२६ को सुरुवात अत्यन्तै पारदर्शी, सक्रिय र उपलब्धिमूलक ढंगले गरेको भन्दै प्रगति विवरण सार्वजनिक गरेको हो।

१०० दिने प्रगति प्रतिवेदन तथा पूर्वअध्यक्षहरूसँगको अन्तर्क्रिया कार्यक्रम वर्ष २०२६ का अध्यक्ष जेसी जीवन लाल डँगौराको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष सन्तोष पौडेल प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव सन्तोष बिकले गरेका थिए।

​कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पूर्वअध्यक्षहरूले जेसीआई जोशीपुरले पहिलो पटक लिखित रूपमा १०० दिने प्रगति प्रतिवेदन सार्वजनिक गरेर पारदर्शीता र गतिशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए। उनीहरूले आगामी दिनमा पनि संस्थालाई अझ सशक्त र युवामैत्री बनाउन नियमित परामर्श र सहयोग जारी रहने प्रतिबद्धता जनाए।

​१०० दिनका मुख्य उपलब्धि र गतिविधिहरू:

​सांगठनिक सुदृढीकरण र नेतृत्व: वर्ष २०२६ को सुरुवातसँगै ११ औं पदहस्तान्तरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। हालसम्म चारवटा बोर्ड बैठकहरू सम्पन्न भइसकेका छन् भने मनोनीत सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।

​क्षमता विकास र तालिम: युवाहरूको क्षमता अभिवृद्धिका लागि नेपाल जेसीजद्वारा आयोजित 'लोम लिडर्स एकेडेमी' र 'नेश्नल काउन्सीलर एकाडेमी' मा शाखाले सक्रिय सहभागिता जनाएको छ। त्यस्तै, टीकापुरमा आयोजित 'मल्टीच्याप्टर पब्लिक स्पिकिङ्ग' तालिम र मोहन्याल माविमा 'स्वस्थ जीवन समृद्ध भविष्य' सम्बन्धी मोटिभेसनल तालिम सम्पन्न गरिएको छ।

​सामाजिक सेवा र सचेतना: सामाजिक उत्तरदायित्व अन्तर्गत अध्यक्षको जन्मदिनको अवसरमा सहारा घर (बर्दगोरिया) लाई खाद्यान्न सहयोग गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा 'महिला हिंसा न्यूनीकरण' सम्बन्धी अभिमुखिकरण कार्यक्रम र माघी पर्वको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गरिएको थियो।

​राजनीतिक संवाद र सहकार्य: कैलाली क्षेत्र नं. १ र २ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद गराउने उद्देश्यले 'ककस-२०८२' कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको थियो।

​राष्ट्रिय स्तरमा सम्मान र पर्यटन प्रवर्द्धन: फेब्रुअरी, मार्च र अप्रिल महिनाको टास्क सफलतापूर्वक सम्पन्न गरेबापत जेसीआई जोशीपुर नेपाल जेसीजबाट 'संकल्प टु सक्सेस' (Sankalp to Success) अवार्डबाट सम्मानित भएको छ। यस्तै, अछामको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनमा आयोजित क्षेत्र 'क' अध्यक्ष भेलामा समेत शाखाको तर्फबाट सहभागिता रहेको थियो।

​प्रकाशन: संस्थाको गतिविधि र नयाँ वर्षको सन्देश सहित नयाँ वर्ष २०८३ को भित्तेपात्रो (Calendar) विमोचन गरिएको छ।

​छिमेकी शाखाहरू टीकापुर, जानकी, लम्की, बौनिया, घोडाघोडी र नारायणपुर जेसीजसँगको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई निरन्तरता दिँदै जोशीपुर जेसीज अगाडि बढिरहेको छ।


​सभापतिको आसनबाट बोल्दै अध्यक्ष जेसी जीवन लाल डँगौराले 'सङ्कल्प देखि सफलता सम्म' भन्ने मूल नाराका साथ बितेका १०० दिन सांगठनिक सुदृढीकरण र सामाजिक सेवामा महत्वपूर्ण कोशेढुंगा साबित भएको बताउनुभयो। उहाँले पूर्वअध्यक्षहरूको मार्गदर्शन र सम्पूर्ण टिमको उर्जाकै कारण यो सफलता सम्भव भएको भन्दै आगामी दिनमा अझ सशक्त र प्रभावकारी कार्यक्रमहरूका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

JCI News Archive