कञ्चनमा करियर काउन्सिलिङ तथा भविष्य योजना कार्यक्रम सम्पन्न

2026-05-22

जेसीआई कञ्चन वर्ष–२०२६ को आयोजनामा “Career Counseling & Future Planning Program” आज सफलतापूर्वक सम्पन्न भएको छ। हरैया बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा करिब ७० जना विद्यार्थी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता जेसीआई कञ्चन वर्ष–२०२६ का अध्यक्ष जेसी निरोज पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको उपस्थिती रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा कञ्चन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटा तथा जेसीआई कञ्चनका संस्थापक अध्यक्ष जेसी चूडामणि पौडेल रहनुभएको थियो। कार्यक्रममा हरैया बहुमुखी क्याम्पसका प्रमुख प्रकाश खनाल अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी प्रकाश उपाध्याय पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने आस्था पाठ जेसी रोशन आचार्यले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन महासचिव जेसी कृष्ण सापकोटाले गर्नुभएको थियो।
विशिष्ट अतिथि टिकाराम सापकोटा, संस्थापक अध्यक्ष जेसी चूडामणि पौडेल तथा अतिथि प्रकाश खनालले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थी तथा युवाहरूलाई आफ्नो लक्ष्य स्पष्ट बनाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभएको थियो। उहाँहरूले यस्ता कार्यक्रमले युवाहरूमा सकारात्मक सोच, नेतृत्व क्षमता तथा भविष्यप्रतिको स्पष्ट दृष्टिकोण विकास गर्न सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रमका प्रशिक्षक जेसी युवराज चापागाईंले विद्यार्थी तथा युवाहरूलाई करियर छनोट, भविष्य योजना, नेतृत्व विकास, अवसर पहिचान तथा सकारात्मक सोच सम्बन्धी प्रेरणादायी प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूले कार्यक्रमबाट धेरै नयाँ कुरा सिक्न पाएको प्रतिक्रिया दिएका थिए।
प्रमुख अतिथि नवराज ढकालले आजको समयमा सही करियर मार्गदर्शन अत्यन्त आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो। उहाँले युवाहरूलाई सीप, क्षमता र आत्मविश्वास विकास गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढ्न आग्रह गर्नुभयो। साथै, गाउँपालिकाले शिक्षा तथा युवामैत्री कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा पूर्व अध्यक्ष जेसी धनपति ज्ञवालीले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, प्रशिक्षक, सहभागी, हरैया बहुमुखी क्याम्पस तथा प्राविधिक सहयोगी Holitech Learning Academy प्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा जेसीआई कञ्चन वर्ष–२०२६ का अध्यक्ष जेसी निरोज पौडेलले यस्ता किसिमका कार्यक्रमहरूले समाज तथा युवाहरूमा सकारात्मक प्रभाव पार्ने बताउँदै आगामी दिनहरूमा पनि युवामुखी तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
JCI News Archive