२२ जेठ २०८३ । अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा हरियाली प्रवर्द्धन तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने उद्देश्यसहित देवघाटधाम जेसीजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।


देवघाट गाउँपालिका–५, पिपलटारस्थित भर्जन कालिकामाई मन्दिर परिसर तथा आसपासका क्षेत्रमा आयोजित कार्यक्रममा समी, रक्तचन्दन, जाकारान्डालगायत विभिन्न प्रजातिका फूल तथा बिरुवा गरी ५० भन्दा बढी बिरुवा रोपिएको थियो।
देवघाटधाम जेसीज वर्ष–२०२६ का उपाध्यक्ष तथा कार्यक्रम संयोजक जेसी अर्जुन सापकोटाको संयोजनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता देवघाटधाम जेसीज वर्ष–२०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदीले गर्नुभएको थियो।
कार्यक्रममा देवघाटधाम जेसीजका निवर्तमान अध्यक्ष जेसी रघु मल्ल, भर्जन कालिकामाई मन्दिरका अध्यक्ष केशवचन्द्र न्यौपाने तथा देवघाटधाम जेसीजका बोर्ड सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
देवघाटधाम जेसिजले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक तथा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा हरित वातावरण निर्माणमा वृक्षारोपणको महत्वपूर्ण भूमिका रहने भन्दै रोपिएका बिरुवाको संरक्षणमा समेत सबै पक्षको सक्रियता आवश्यक रहेको बताएका थिए।